९ माघ, काठमाडौं । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भन्ने गरिएको भारतको पश्चिम बंगालमा गैरआदिवासी युवकसँग प्रेम गरेको भन्दै २० वर्षकी आदिवासी युवतीलाई पञ्चायतको आदेशमा १२ जनाले सामुहिक बलात्कार गरेका छन् ।
प्रहरीका अनुसार वीरपुर जिल्लामा गाउँ पञ्चायतको आदेशमा यो युवतीको सामुहिक बलात्कार भएको हो । गैरआदिवासी युवकसँग प्रेम गरेर अपराध गरेको भन्दै पञ्चायतले युवतीलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी प्रमुख सी सुधाकरले भनेका छन्–‘राजारामपुर गाउँकी पीडित युवतीको छिमेकी गाउँका एक गैरआदिवासी युवकसँग सम्वन्ध थियो । उनीहरुले पछिल्लो ५ वर्षदेखि एकअर्कालाई भेट्दै आएका थिए ।’
सोमबार केटा पक्षले विवाहको प्रस्ताव लिएर केटीको घरमा आएको गाउँलेले देखेपछि पञ्चायत बोलाइएको थियो । पञ्चायतको कारवाहीका क्रममा युवतीलाई हात बाँधेर राखिएको थियो ।
गाउँका प्रधान बलाई माण्डीले दुबै पक्षलाई २५÷२५ हजार जरिवाजा गर्ने फैसला सुनाए । केटाको परिवारले जरिवाना तिरे पनि केटीका परिवारले पैसा नभएको भन्दै तिर्न नसक्ने बताए ।
त्यसपछि युवतीका टाढाको आफन्त समेत पर्ने प्रधान माण्डीले युवतीलाई बलात्कार गर्न आदेश दिएका थिए । प्रहरीमा दिइएको उजुरीका अनुसार माण्डीले भनेका थिए–‘उसको परिवारले जरिवाना दिएन, त्यसैले जाओ र युवतीसँग मजा गर ।’
बलात्कारमा संलग्नहरु पीडित युवतीको बाबुका उमेरका समेत छन् । पीडित परिवारले बुधबार उजुरी दिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पीडित युवतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भारतीय सञ्चार माध्यमहरुका आनुसार वीरपुरमा पञ्चायतले यस्तो आदेश दिएको यो पहिलोपटक भने होइन । सन् २०१० मा पनि गैरआदिवासी युवकसँग प्रेम गरेका कारण एक युवतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने आदेश दिइएको थियो । पूरा घटनाको भिडियो बनाइएको थियो ।
Post a Comment